काठमाडौं – भीमदत्त नगरपालिका –९ का प्रद्यानाध्यापकको कुटाइबाट १ छात्रा घाइते भएकी छन् । भीमदत्त नगरपालिका –९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेका हुन् ।
कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएता पनि छात्रा नाथको टाउकामा चोट लागेका कारण अवस्था गम्भिर रहेकोले उनलाई थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ ।
छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको जानकारी दिएका छन् । “छोरी विद्यालय गएकी थिइन”, उनले भने, “घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।” छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रधानाध्यापकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
घटनाबारे विद्यार्थी सङ्घसङ्गठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारवाहीको माग अघि सारेका छन् । अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुःखद् भएको भन्दै प्रधानाध्यापकमाथि कारवाहीको माग गरेका छन् ।
महिला अधिकारकर्मी मीना भण्डारी, निर्मला भट्ट र शारदा चन्दसहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भइरहेका घटनाको भत्र्सना गर्दै दोषीउपर कारवाहीको माग गरेका छन् ।