एजेन्सी – क्रिस्टियानो रोनाल्डोले हेडमार्फत् २ गोल गरेपछि युभेन्टसले क्रोटोनेलाई हराउँदै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी ८ अङ्कमा घटाएको छ । खेलको ३८ मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा एरोन रामशेको क्रसमा उनले अग्रता दोब्बर बनाएका थिए ।
युभेन्टस आएयता साढे २ वर्षमा उनको यो ७० औँ गोल रहेको थियो । यो समयमा रोनाल्डोभन्दा रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीमात्र बढी गोल गरेका छन् । यता, रोनाल्डोको गोल खाने क्रोटोने युरोपको शीर्ष ५ लिगको ७८ औँ टोली बनेको छ ।
इन्टरका रोमेलु लुकाकुलाई उछिन्दै रोनाल्डो यो सिजन सिरिए ए को सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा पुगेका छन् । दोस्रो हाफमा वेस्टन म्याककेनीले युभेन्टसको तेस्रो गोल गरे ।