काठमाडौं – नेपालमा जीवन बीमाको पहुँच बढ्न थाले पछि बीमा कम्पनीहरुको आम्दानीमा उल्लेख्य बृद्धि भएको छ । चालू आर्थिक वर्ष ०७७/ ७८ को दोस्रो त्रैमासिकमा जीवन बीमा कम्पनीहरूको बिमाशुल्क सङ्कलन ३७ प्रतिशतले बढेको देखिन्छ । जीवन बीमाका १९ वटा कम्पनीहरूले प्रकाशित गरेको विवरणअनुसार कम्पनीहरूले यो अवधिमा ५६ अर्ब ६९ करोड रुपैयाँ बीमाशुल्क सङ्कलन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले ४१ अर्ब ३७ करोड रुपैयाँ सङ्कलन गरेका थिए । तीन वर्ष अघि केही नयाँ बीमा कम्पनीहरू थपिएसँगै बीमा कम्पनीहरुको संख्या बढ्दा बीमा बजारमा प्रतिस्पर्धा बढ्न जाँदा बीमाको पहुँच गाउँ उन्मुख हुन थालेका छन् । ग्रामीण बस्तीहरुमा समेत बीमा व्यवसाय विस्तार भएको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सानिमा लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको बिमाशुल्क सङ्कलन दुई गुणाले बढेको देखिन्छ । समीक्षा अवधिमा सानिमा लाइफ इन्स्योरेन्सले ९५ करोड ६३ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षकोे सोही अवधिमा कम्पनीले ४० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तैगरी गुराँस लाइफ इन्स्योरेन्सले चालू आ.व.को ६ महिनामा २ अर्ब ११ करोड रुपैयाँ सङ्कलन गरेको छ । यो रकम गत आ.व.को सोही अवधिको तुलनामा दुई गुणा बढी देखिएको छ । सो अवधिमा कम्पनीले ९५ करोड ७७ लाख रुपैयाँ बिमाशुल्क सङ्कलन गरेको थियो । रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले पनि दोब्बर बिमाशुल्क सङ्कलन गर्न सफल भएका छन् ।