काठमाडौं – आज हाइड्रोपावर कम्पनीहरुको सेयरमा लगानीकर्ताको अत्यधीक आकर्षण देखिएको छ । आइतबार अधिकांश समूह घटेतापनि हाइड्रोपावरले समग्र बजार नै उचालेको थियो । हाइड्रोपावर समूहहरुको सब इन्डेक्स ४ प्रतिशत भन्दा धेरै बढ्दा आइतबार नेप्से परिसूचक झिनो अङ्कले बढेको थियो ।
साताको दोस्रो दिन सोमबार भने परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ । तर हाइड्रोपावरको सेयर मूल्यमा भने चमक देखिएको छ । नेप्सेमा कारोबार हुने सबै समूहहरु राताम्मे देखिदा समेत हाइड्रोपावर र अन्य समूहमा रहेका केहि कम्पनीहरुको सेयर मूल्य उकालो लागेको छ ।
सेयर कारोबार मापक परिसूचक नेप्से ३२ दशमलव ६७ अङ्कले घटेर २ हजार ६ सय ७ दशमलव ६७ अङ्कमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव २२ अङ्कले घटेको छ ।
आज धेरै कमाउने अधिकांश हाइड्रोपावर कम्पनीकै लगानीकर्ताहरु देखिएका छन् । दोस्रो बजारमा सूचीकृत भएर कारोबार शुरु भएसँगै लगातार बढिरहेको नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा) को सेयर मूल्य आज पनि १० प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो साताको आइतबारबाट दोस्रो बजारमा शुरु भएको निफ्राको सेयर मूल्य लगातार बढेर अहिले ६ सय ६० रुपैयाँमा पुगेको छ । उता आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै वृद्धि भएको छ । यसपछि धेरै बढ्नेमा अन्य हाइड्रोपावर कम्पनीहरु नै देखिएका छन् ।
निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य अत्यधिक बढेको छ । केहि दिन यता निकै चर्चामा रहेको सेञ्चुरी कमर्सीयल बैंक र सिभिल बैंकको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै गुमाउनेहरुमा सिभिल बैंकका लगानीकर्ताहरु रहेका छन्, भने दोस्रोमा सेञ्चुरीका लगानीकर्ता देखिएका छन् । दुबै बैंकको ५ प्रतिशत भन्दा धेरैले सेयर मूल्यमा गिरावट आएको छ ।