एजेन्सी – भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या आइतबारसम्म १ करोड १० लाख बढी पुगेको छ । गत २४ घण्टाको अवधिमा भारतमा १४ हजार १ सय ९९ जना नयाँ सङ्क्रमित फेला परेपछि भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ करोड १० लाख ५ हजार ८ सय ५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जानकारी दिएकोे छ ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८३ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल सङ्ख्या १ लाख ५६ हजार ३ सय ८५ पुगेको छ ।
भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म १ करोड भन्दा बढी मानिसहरुले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका छन् । कोरोना विरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेको समाचारमा जनाइएको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड ६ लाख ९९ हजारभन्दा धेरै व्यक्ति सङ्क्रमणमुक्त भएका छन् । हाल भारतमा १ लाख ५० हजार ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १ सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । बिहीबार कोरोना भाइरसको सङ्क्रमणका कारण २ जनाकोे मृत्यु भएको थियो ।
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर २१ करोड १५ लाख ५१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । बिहीबार एकै दिनमा मात्र ६ लाख २० हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको समेत जानकारी दिएको छ ।