काठमाडौं – गोरखाको बारपाकमा एकै परिवारका ३ जना घरभित्रै मृत फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका –१ मा एकै परिवारका ३ जनाको घरभित्रै शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
८४ वर्षीय तीलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आईतकुमारी गुरुङ र नातिनी नाता पर्ने १२ वर्षीया उषा गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार तीनैजनाको मुखबाट फिज निस्केको अवस्थामा शव भेटिएको छ । आज बिहान अबेरसम्म ढोका नखुलेपछि छिमेकीहरु आएर हेर्दा शव देखेको र प्रहरीलाई खबर गरेको उनले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिएका छन् ।