काठमाडौं – फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै मोनाकोसंग पराजित भएको छ । गएराति भएको खेलमा पीएसजी मोनाकोसँग २–० ले पराजित भएको हो । पीएसजीलाई उसैको मैदानमा हराउन मोनाकोका लागि सोफियाने डिओप र गुइलेर्मो मारिपानले १–१ गोल गरेका थिए ।
खेलको छैटौं मिनेटमा सोफियानेले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको मोनाको दोस्रो हाफमा पनि १ गोल थप्यो । ५१ मिनेटमा गुइलेर्मोले गोल गर्दै मोनाकोलाई २–० को जित दिलाएका थिए ।
जितपछि २६ खेलबाट ५२ अङ्क जोड्दै मोनाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ५४ अङ्क रहेको पीएसजी तेस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको लिले भन्दा पीएसजी ४ अङ्कले पछि छ । लिलेको ५६ अङ्क छ । यस्तै लियोन ५५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।