काठमाडौं – रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदूर पश्चिम प्रदेश टिम च्याम्पियन बनेको छ । कराँते प्रतियोगितामा सुदूर पश्चिम ४ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा ३ स्वर्ण पदकसहित प्रदेश २ दोस्रो र १ स्वर्णसहित प्रदेश नं १ ले तेस्रो भएको छ ।
चन्द्रपुर नगरपालिकाको सहयोगमा भएको सो प्रतियोगिताको हरेक तौल समूहमा प्रथम हुने खेलाडीले नगद सहित प्रमाणपत्र पनि प्राप्त गरेका थिए । चन्द्रनिगाहपुरको तुलसी लाल स्मृति खेल मैदानमा भएको प्रतियोगिताको २५ किलो तौल समुहमा सुदूर पश्चिमका सोनाम तामाङले स्वर्ण, गण्डकी प्रदेशका रोमन नेपालीले रजत र बागमती प्रदेशका विजय थापा मगर र प्रदेश १ का मिण्डे शेर्पा कास्य पदक जितेका छन् ।
३० किलो तौल समूहमा गण्डकी प्रदेशका सन्दीप रुचालले रजत, सुदूर पश्चिमका सन्देश लामाले स्वर्ण, र प्रदेश १ का मुन्दुङ र बागमती प्रदेशका अंकित गुरुङले कास्य पदक जिते । ३५ किलो तौल समूहमा सुदूरपश्चिमका राकेश मानन्धरले स्वर्ण जिते । र ४० किलो तौल समूहमा सुदूर पश्चिमका सुनील ठगुन्नाले, ४५ किलो तौल समूहमा बागमती प्रदेशका रोशन खातीले र ५० किलो तौल समूहमा प्रदेश १ का धनकुमार राईले स्वर्ण पदक जितेका छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश २ का स्वतन्त्र मगर घोषित भएको नेपाल सितेरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएका छन् । प्रतियोगितामा विजयी खेलाडीलाई चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरती चौधरी, नेपाल सितेरियो कराँते संघका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।