एजेन्सी – अमेरिकी स्पेस एजेन्सी (नासा)को मङ्गल अभियान सफलतासाथ सम्पन्न भएको छ । शुक्रवार राति यस अभियानको ‘पर्सिवरेन्स मार्स रोवर’ ले मङ्गलमा ल्याण्ड गरेको हो । रोवरले ल्याण्ड गरेपछि पठाएको सन्देश आई पुग्नसाथ परियोजनामा संलग्न व्यक्तिले ताली बजाएर खुशी प्रकट गरेका थिए । रोवरको यस ल्यान्डिङले नासाको १० वर्षको मेहनत सफल भएको छ । रोवरले नेपाली समय अनुसार शुक्रवार राति २ बजेर ४० मिनेटमा मङ्गल सतहमा अवतरण गरेको थियो ।
नासाको यस अभियानको उद्देश्य मङ्गलमा जीवनको सम्भावना खोज्नु रहेको छ । पर्सिवरेन्स मार्स रोवरले मङ्गल ग्रहको अप्ठेरो स्थान जेजेरो क्रेटर मा अवतरण गरेको छ । वैज्ञानिकहरुका अनुसार मङ्गलको यस ठाउँमा अर्बौं वर्ष पहिला एउटा नदी बग्थ्यो । मङ्गल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुकेर डेल्टामा परिणत भयो । वैज्ञानिकहरुलाई विश्वास छ, यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सकिन्छ ।
अत्याधुनिक वैज्ञानिक उपकरणजडित पर्सिवरेन्स रोवरले मङ्गलको यस स्थानमा खनेर–खोस्रेर सुक्ष्म जीवनबारे अनुसन्धान गर्नेछ । ६ पांग्रा भएको पर्सिवरेन्स रोवर न्यूक्लियर शक्तिबाट सञ्चालित हुने रोवर हो । यस अभियानको प्रमुख उद्देश्यमा मङ्गल ग्रहमा भविष्यमा मानव बस्ती बसाउने सम्भावना छ कि छैन भनेर अध्ययन गर्नु पनि रहेको छ ।