काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक परिसूचक नेप्से दोहोरो अङ्कले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ । केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण आज पनि कायमै रहेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा र लघुवित्तहरुको सबइन्डेक्स भने घटेर राताम्मे देखिएका छन् ।
कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो ।

आज सेयर कारोबार मापक परिसूचक नेप्से २५ दशमलव २३ अङ्कले बढेर २ हजार ६ सय ३६ दशमलव ६८ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ७७ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । सबैभन्दा धेरै आज व्यापार समूहको सबइन्डेक्स बढेको छ । यो समूहको सबइन्डेक्स २ दशमलव ४५ प्रतिशतले बढेको छ भने विकास बैंक २ दशमलव ३३ अङ्कले बढेको छ ।
बैंकिङ सबइन्डेक्स पनि १ दशमलव २२ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूहको सबइन्डेक्स भने ० दशमलव ३८ प्रतिशतले घटेको छ भने जीवन बिमाको ० दशमलव ६२ प्रतिशतले घटेको छ । लघुवित्त समूह पनि ० दशमलव ५९ अङ्कले घटेको छ ।