काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणको लागि आज मिनी अक्सन हुँदैछ । चेन्नाईमा हुने अक्सन भारतीय समय अनुसार दिउँसो ३ बजे सुरु हुने भएको छ । मिनी अक्सन भएकोले यो पटक अक्सनबाट थोरै खेलाडी मात्र टिमले लिनेछन् । सुरुमा १ हजार ९७ खेलाडीले आईपीएलकव नाम दर्ता गराएकोमा जम्मा २ सय ९२ खेलाडी मात्र अक्सनमा जानेछन् ।
नेपालबाट सन्दीप लामिछाने मात्र अक्सनको लिस्टमा परेका छन् । सन्दीपसहित ८ नेपाली खेलाडीले यस पटक आईपीएल अक्सनमा नाम दर्ता गराएका थिए । तर फ्रेन्चाइजको प्रस्ताव अनुसार २ सय ९२ खेलाडी मात्र अक्सनको लिस्टमा पर्न सफल भएका हुन् । नेपालबाट अक्सनका लागि नाम दर्ता गराउने अन्य खेलाडीमा करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहरा रहेका थिए ।
भारतमा अक्सन हुनुअघि अहिले नेपाली क्रिकेट प्रेमीको ध्यान चेन्नाईतर्फ नै मोडिएको छ । कारण सन्दीप यसपटक अक्सनबाट नै टिममा छनोट हुन्छ, हुँदैन भन्ने उत्सुकता सबैमा नै भइरहेको छ । दिल्ली फ्रेन्चाइजमा ३ वर्ष बिताएपछि नयाँ संस्करणअघि दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेको थियो । जसले गर्दा नयाँ सिजनका लागि सन्दीप अक्सनमा पुग्न सफल भएका हुन् ।
सन्दीपले आफ्नो बेस प्राइज ४० लाख भारु राखेका छन् । अन्य देको लिगमा धेरै रकममा अनुबन्ध भएर खेलिसकेका सन्दीपले आइपीएलमा भने धेरै बेस प्राइज राखेका छैनन् । उनले आफूले पैसका लागि भन्दा पनि अवसरका लागि ब्रेस प्राइज राखेको जानकारी दिएका थिए ।
अक्सनमा भारतका १ सय ६४ विदेशी १ सय २५ र ३ एसोसिएट खेलाडीहरु सहभागी हुनेछन् । जसमा भारतीय खेलाडी हर्भजन सिंह र केदार जादभ सहित १२ खेलाडीले सबैभन्दा धेरै २ करोड बेस प्राइज राखेका छन् । यो पटक चर्चित खेलाडीहरु स्टिभ स्मिथ ग्लेन म्याक्सवेल बरोन फिन्च जस्ता खेलाडी पनि अक्सनमा समावेश छन् ।

अक्सनबाट बढीमा ६१ खेलाडीमात्र छनोट हुने छन् । जसमा विदेशी २२ जनामात्र छनोट हुनेछन् । थोरै विदेशी खेलाडी छनोट हुने र टिम कम्बिनेसन समेत महत्वपूर्ण हुने हुँदा नेपालका लेग स्पिनर सन्दीपलाई कुन टिमले छनोट गर्ला वा सन्दीप छनोट नहोला अहिले चासोको विषय बनेको छ ।
सन्दीपलाई अनुबन्ध गर्न सक्ने टोलीको रुपमा साविक विजेता मुम्बई इनडियन्स र पञ्जाव किंग्सलाई हेरिएको छ । अक्सनमा पञ्जावले सर्वाधिक ५३.२० करोड रकम खर्च गर्न पाउनेछ र ५ विदेशी खेलाडी लिन पाउनेछ । यस्तै मुम्बईले ४ विदेशी खेलाडी राख्न पाउनेछ ।