काठमाडौं – राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने बताएका छन् ।
अहिले भइरहेको राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको घुँडामा चोट लागेको छ । एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको छ । बुधबारसम्म सावित्राको चोटको बारेमा विस्तृत रिपोर्ट आउने छ । प्रारम्भिक रिपोर्ट अनुसार सावित्राले करिब १ वर्ष खेल्न नसक्ने सम्भावना देखिएको छ ।
एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति हुने भन्दै उनको स्वास्थ्य उपचारमा एन्फाले हरेक कोणबाटसहयोग गर्ने बताएका छन् । ‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ । साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामाना पनि गर्दछु,’ अध्यक्ष शेर्पाले लेखेका छन् ।