दक्षिण भारतीय चलचित्र उद्योगका लोकप्रिय अभिनेता विजय सेतुपतिले बलिउड सुपरस्टार आमिर खानको चलचित्र ‘लालसिंह चड्ढा’मा काम नगर्ने भएका छन् । सेतुपतिले आमिरको आगामी चलचित्र ‘लालसिंह चड्ढा’ छोडेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
चलचित्र छोड्नुको कारण भने खुलेको छैन । तर केही सञ्चारमाध्यमले आमिरसँग कुनै कुरामा विवाद भएपछि विजयले फिल्म छोडेको दावी समेत गरेका छन् । यस विषयमा दुबै जनाले सार्वजनिक रुपमा मुख खोलेका छैनन् । विजयले आमिरलाई आफ्नो विकल्प खोज्न भनिसकेको बताइएको छ ।
‘लालसिंह चड्ढा’ चर्चित हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । चलचित्रको निर्देशन अद्वैत चन्दनले गर्दैछन् । चलचित्रमा आमिरका साथै करिना कपूर, मोना सिंह लगायतको अभिनय रहनेछ । साथै सलमान खान र शाहरुख खान पनि अथिति भूमिकामा देखिने बताइएको छ । आगामी क्रिसमसमा रिलिज हुने भनिएको चलचित्रको हाल सुटिङ भइरहेको छ ।