धनुषाको कमला नगरपालिकामा मंगलबार एक महिला मृत अवस्थामा फेला परेकी छन् । कमला नगरपालिका–२ माचिझिटकैयामा अन्दाजी ३५ वर्षकी संगीतादेवी गडेरी राउत मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनी बिहानै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिएका छन् । मृतक महिलाको घाँटीमा निलडाम रहेको छ ।
मृतक खुशीलाल गडेरीका जेठी पत्नी हुन् । संगीताको शव फेला परेपछि उनका पति खुशीलाल फरार भएको प्रहरी निरीक्षक रोकायाले जानकारी दिएका छन् । ‘घट्ना शंकास्पद देखिएको छ,’ रोकायाले भने, ‘घट्नाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।’
मृतक महिलाको शवको पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले बताएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्ने बताउँदै प्रहरी निरीक्षक रोकायाले फरार भएका उनका पतिको पनि खोजी भइरहेको समेत जानकारी दिएका छन् ।