संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न सत्ता हातमा लिएको म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाले फेब्रुअरी १ मा निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको थियो । त्यसपछि सैन्य कू को विरोधमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुसहितले प्रदर्शन गर्दै आएको छ ।
प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादतीका खबर आइरहेका बेला संयुक्त राष्ट्रसंघले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने जनताको अधिकारको रक्षा तथा सम्मान गर्न सैनिक नेतृत्वसँग भनेको हो । सत्ताको नेतृत्वमा रहेका म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर बग्नरले प्रदर्शनकारीमाथि हुने कुनै पनि प्रकारको ज्यादतीको गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएकी हुन् ।
विशेष दूत क्रिष्टिनले सोमबार सत्ता हातमा लिएको म्यानमार सेनाका डेपूटी हेट सोए विनसँग टेलिफोन वार्ता गरि सचेत गराएकी हुन् । सेनाले पछिल्लो दुई दिनदेखि रातिको समयमा इन्टरनेट सेवा अवरुद्ध गरेको छ ।
मंगलबार बिहान भएसँगै इन्टरनेट सेवा सुचारु भए पनि मुख्य शहरहरुमा हतियार सुसज्तित सेनाका बख्तरबन्द गाडीहरुको तैनाथी उस्तै छ । प्रदर्शनकारीहरुले मंगलबार पनि विरोध जारी राखेका र प्रदर्शनकारीहरु सानो–सानो समूहमा रहेको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ ।