भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । साथै कोभिड–१९ सङ्क्रमित मध्ये १ लाख ५५ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ३९ हजार रहेको छ भने १ करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन् ।
विगत ३ दिनदेखि भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको मन्त्रालयले बताएको छ । भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान शुरु गरेको थियो । देशभर करिब ८३ लाख व्यक्तिले खोप लिइसकेका छन् जसमा मुख्यगरी स्वास्थ्यकर्मीहरु रहेका छन् ।
यसैबीच, आइतबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार १ दिन ४ लाख ८६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जानकारि दिएको छ । भारतमा हाल सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको कोभाक्सिन खोप प्रयोगमा ल्याइएको छ ।
विश्वभर कोभिड–१९ बाट करिब १० करोड १९ लाख व्यक्ति सङ्क्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमध्ये करिब २४ लाख ११ हजार व्यक्तिको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा ४ लाख ९७ हजार, ब्राजिलमा २ लाख ३९ हजार, मेक्सिकोमा १ लाख ७४ हजार, बेलायतमा १ लाख १७ हजार, इटालीमा ९३ हजार र फ्रान्समा ८१ हजारको मृत्यु भइसकेको छ ।
कोरोनाभाइरसको उत्पत्ति भएको भनिएको चीनमा भने ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको थियो । कोभिड–१९ विश्वका २ सय २१ वटा मुलुक एवं क्षेत्रमा फैलिएको पाइएको छ । विश्वभर अझै पनि करिब ९८ हजार व्यक्ति गम्भीर अवस्थामा रहेर उपचार गराइरहेका छन् ।