काठमाडौं – सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार ९२ दशमलव ४२ अङ्कले बढेर २ हजार ५ सय ८६.१ अङ्कमा अडिएको छ । यसदिन १० अर्ब भन्दा बढीको सेयर खरिद बिक्री भएको छ । आइतबार भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर धितो कर्जा सम्बन्धीको व्यवस्थामा कम्तिमा तीन महिना कुनै परिमार्जन नहुने व्यवस्था गरेपछि सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । आज सबै समुहमा बढोत्तरी छ ।
किसान लघुवित्त वित्तिय संस्थाले सबैभन्दा धेरै कमाएको छ । यसको सेयर मूल्य आज १ हजार ६ सय ७२ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारको तुलनामा १ सय ५२ रुपैयाँले बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले बढेको थियो । यता दोस्रो धेरै कमाउनेमा फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । यसको आजको सेयर मूल्य ३ हजार २ सय ४५ रुपैयाँ रहेको छ । यसको सेयर मूल्य पनि १० प्रतिशतले बढेको हो ।
सामुदायिक लघुवित्त वित्तीय संस्था तेस्रो धेरै कमाउनेमा परेको छ । यसको सेयर मूल्य १ हजार ३ सय ७५ रुपैयाँ रहेको छ । यसको पनि १० प्रतिशतले सेयर मूल्य बढेको हो । मौद्रिक नीतिको समिक्षाले लघुवित्तको सेयरमा कडाइ गर्ने हल्ला चलेपनि लघुवित्त सम्बन्धी कुनै पनि कडाइको व्यवस्था नगरेका कारण लघुवित्त कम्पनीको सेयर मूल्य चम्किएको छ ।