पिएरे एमरिक औवामेयाङको ह्याट्रिक प्रेरित आर्सनलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको छ । घरेलु मैदान एमरिट्स स्टेडियममा भएको खेलमा लण्डन क्लबले पहिलो हाफमै ३ गोल गरेको थियो । औवामेयाङले खेलको १३ औं र ४१ औं मिनेटमा गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तयतिर हक्टर बेलेरिनले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा औवामेयाङले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा आर्सनलले ४–० को अग्रता बनायो ।
लिड्सका लागि पास्कल स्टुजिकले ५८औं र हेल्डर कोस्टाले ६९ औं मिनेटमा गोल फर्काए । जितपछि २४ खेलबाट ३४ अङक जोड्दै आर्सनल १० औं स्थानमा उक्लेको छ । २३ खेलबाट ३२ अङ्कसहित लिड्स ११ औं स्थानमा छ । सातौं स्थानको एभरटन भने रेलिगेनस जोनमा रहेको फुलहमसँग २–० ले पराजित भयो । एभरटनलाई उसैको मैदानमा पराजित गर्न फूलहमका लागि जोस माजाले दुवै गोल गरे । उनले ४८ औं र ६५ औं मिनेटमा गोल गरे । एभरटन २२ खेलबाट ३७ अङ्कसहित सातौं स्थानमा छ । फूलहम २३ खेलबाट १८ अङ्क जोड्दै पुछारबाट तेस्रो अर्थात १८ औं स्थानमा छ ।