भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकामध्ये अहिलेसम्म २७ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अझै १ सय ७१ जना बेपत्ता छन् र उनीहरुको खोजी तथा उद्धारकार्य भइरहेको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घाइतेहरुलाई भेट्न आइटिबिपी अस्पताल गएको पनि भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । बेपत्ता भएकाहरुको खोजीका लागि उद्धारकर्मीहरु सोमबार रात भर पनि सक्रिय थिए । उत्तराखण्डको जोशीमठमा आइतबार अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा बाढी आएको हो ।

चमोली जिल्लाको हिमनदी फुटेर स्थानीय ऋषिगंगा जलविद्युत आयोजनाको बाँध बगाउँदा वरपरको बस्तीमा जोखिममा आएको थियो । जलविद्युत आयोजनाको सुरुङमा काम गरिरहेका मजदुरहरु हिमनदी फुटेर आएको बाढीका कारण बढि प्रभावित भएका हुन् । यस्तै तपोवन बाँधमा पनि ठूलो क्षति पुगेको र नजिकको सुरुङमा अझै ३०–३५ जना फसेको आशंका रहेकाले उद्धार तथा खोजीको काम भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।