काठमाडौं – नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका ४ जनाभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका छन् । उक्त क्षेत्रमा एकै परिवारका ४ जना सेनामा भर्ना हुने परिवारको सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई रहेको छ । गोर्खा घैरुङ –५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा रहेका छन् । यसअघि सम्पन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दा बढी सैनिक सेवामा रहने १७ परिवारलाई सेनाले सम्मान गरिसकेको छ ।

सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्नुहुने उक्त क्षेत्रका १ सय १ वर्षीया एकल महिला गोरखा नगरपालिका –४ खड्गकुमारी ओली र बागलुङ नगरपालिका–९ का ९६ वर्षीय मनिराज थापा सबैभन्दा ज्येष्ठ हुन् । उक्त सम्मेलनमा सहभागी हुन ६ हजार ४ सय ९४ जनाले नाम दर्ता गराइसकेको सेनाले जानकारी दिएको छ । मुलुकको पश्चिम क्षेत्र हुँदै अघि बढिरहेको भूपू सम्मेलन गत वर्षको फागुनमा कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणको जोखिम बढेसँगै स्थगित भएकामा पुनः बुधबार पोखराबाट शुरु हुँदैछ । यस पटकको मुख्य शिविर पश्चिम पृतनामा हुनेछ भने हिताधिकारीको सुविधालाई ध्यानमा राखी मातहतका जिल्लामा सहायक शिविर सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिएका छन ।

सम्मेलनका क्रममा हिताधिकारीको गुनासो सैनिक नेतृत्वले सुन्नेछ, भने उनीहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदैछ । कोरोनाका कारण यस पटकको सम्मेलनमा हिताधिकारीको समावेशी प्रतिनिधिमूलक सहभागिता हुनेछ । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा रहेको छ ।