अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथिको आर्थिक प्रतिबन्ध तत्काल फुकुवा नगर्ने स्पष्ट पारेका छन् । सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसारका शर्त स्वीकार नगरेसम्म इरानमाथि अमेरिकाले लगाउँदै आएको प्रतिबन्ध फुकुवा नहुने राष्ट्रपति बाइडेनले स्पष्ट पारेका हुन् । अन्तर्वार्ताको क्रममा बाइडेनले इरान नीतिमा तत्काल कुनै परिवर्तन नहुने स्पष्ट पारेका हुन् । तर इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीले भने अमेरिकीले सबै प्रकारका आर्थिक प्रतिबन्ध फुकुवा गरेपछि मात्रै इरान सन् २०१५ को सम्झौतामा फर्किन सक्ने जानकारी दिएका छन् । सन् २०१५ मा भएको सम्झौतामा इरानको परमाणु कार्यक्रम सीमित गर्ने र त्यसको बदलामा उसमाथिको प्रतिबन्ध फुकुवा हुने उल्लेख छ ।

Biden-Image

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई सो सम्झौताबाट सन् २०१८ मा बाहिरिएको घोषणा गरेका थिए । उनले इरानमाथि पुनः प्रतिबन्ध लगाए र इरानले आफ्नो परमाणु कार्यक्रमलाई बढावा दिएको थियो । इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको बताउँदै आएको छ । बाइडेनले अन्तर्वार्ताको क्रममा चीनसँगको सम्बन्धबारे पनि बोलेका छन् । उनले चीनसँगको तनावको कुनै अर्थ नरहेको तर दुई देशबिच तीव्र प्रतिस्पर्धा भने रहेको र रहनु पर्ने समेत बताएका छन् । बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाले यता चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सीधा कुराकानी गरेका छैनन् ।