बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित २ जना भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटीएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले बताएका छन् । बिआर ०५ थ ६४१७ नम्बरको मोटरसाइकल सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र अर्का १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।

कपडाको झोलामा लुकाइछिपाइ १ हजारको १ हजार ९ सय २३ थान, ५ सयको ५ हजार ७ सय ४ थान, १ सयको १ हजार २ सय थान र रु ५० को १ सय थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र यस कारोवारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै कानूनी दायरामा ल्याउने उपरीक्षक शाहीले जानकारी दिएका छन् ।