काठमाडौं – कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा १ लाख ८४ हजार जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कुनै अवान्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको समेत जानकारी दिएका छन् । अब दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

डा. गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २ सय १ खोप केन्द्रबाट १ लाख ८४ हजार ८ सय ५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश नं. १ मा २४ हजार २ सय २४, प्रदेश नं. २ मा २५ हजार ६ सय ३७, बागमती प्रदेशमा ६३ हजार ३ सय ८, गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१, कर्णाली प्रदेशमा ९ हजार ४ सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जनाले लगाएका छन् ।

सरकारले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कूल जनसङ्ख्याको ३ प्रतिशतलाई खोप लगाउनेमध्ये स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविकालगायत थिए । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना रहेको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाल सरकारलाई ५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी दिएको छ ।