काठमाडौं – हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात परेको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले जानकारी दिनुभयो ।

हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको समेत उनको भनाइ रहेको छ । लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए । अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै अन्नबालीका लागि सुविकाल शुरु भएको बताए ।

जिल्लाभरि नै बिहीबार रातिदेखि शुरु भएको वर्षात्सँगै भएको हिमपातका कारण आलु, गहुँ, जौ, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय कृषक भीमप्रसाद देवकोटाले बताएका छन् । हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध भएको छ । धावनमार्गमा बाग्लो हिउँ जमेका कारण बिहीबार सम्पूर्ण उडानहरु रद्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जानकारी दिएको छ । काठमाडौं र नेपालगञ्जदेखि कुनै पनि उडान हुन नसकेको प्राधिकरणको भनाइ छ ।