काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नयाँ प्रशिक्षक डेभ ह्वाटमोर र छनोट समितिसितको समन्वयमा क्यानले खेलाडी छनोट गरेको हो । पहिलो पटक विवेक यादव, हरिशङ्कर शाह, अनुज चनारा, खड्गबहादुर बोहोरा र अर्जुन कुमाल बन्द प्रशिक्षणका लागि क्यानको छनोटमा परेका छन् । लामो समयपछि रामनरेश गिरी, पृथु बाँस्कोटा, कृष्ण कार्की र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

ओमानसँग नेपालले एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने छ । क्यानले हालै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार बनाएर बन्द प्रशिक्षणका लागि बोलाएको हो । नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।