काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले आज दरवारमार्गमा आयोजना गर्न लागेको आमसभाका कारण काठमाडौं उपत्यकाभित्र सवारी आवागमन प्रभावित भएको छ । दरवारमार्गमा हुने कार्यक्रमका लागि उपत्यकाका विभिन्न स्थानमा मानिसहरु भेला भइरहेका कारण दरवारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । ट्राफिक प्रहरीले दरवारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट डाइभर्सन गरेको छ । सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठुला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाले जानकारी दिएको छ । कार्यक्रम अवधिभर सवारी साधन डाइभर्सन हुने भएकोले सवारी साधनका चालकलाई अन्य वैकल्पिक मार्गको प्रयोग गर्न महाशाखाले अनुरोध समेत गरेको छ ।