काठमाडौं – मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टीप्यालेसको छतबाट खसेर आज एक जनाको ज्यान गएको छ । रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिएका छन् ।

उनका अनुसार आज बिहान ६ः१५ बजे पार्टीप्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक यादव क्विक–२० पार्टीप्यालेसमा सरसफाइको काम गर्दै आएका थिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।