काठमाडौँ, जेठ २५ गते । सङ्घीय संसद्को राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दै छन् । दुबै समितिको बैठक आज सोमबार एकै समयमा बस्ने भएका हुन् ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् ।
आज सोमबार बिहान ११:०० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्गको प्रगति र अवस्थाका बारेमा सरोकारवाला निकायसँग छलफल हुने बताइएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने उक्त बैठकमा नागढुङ्गा सुरुङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग विस्तृत समीक्षा गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, आज सोमबार बिहान ११:०० बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा गरिएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।





