बर्दघाट–सुस्ता–पश्चिम, फागुन १५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार शिक्षा क्षेत्रको विकासमा रचनात्मक ढङ्गले अघि बढेको बताउनुभएको छ । आज पश्चिम नवलपरासीको सुनलव नगपालिका–१२ भूमहीमा आयोजित शैक्षिक तथा सांस्कृति मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार शिक्षामा नविनतम र रचनात्मक ढङ्गले काम गरिरहेको बताउनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारको ‘मेरो विद्यायल मेरो, दायित्व कार्यक्रम’ द्वारा शिक्षाको गुणस्तरमा सुधार हुने उहाँको भनाइ छ । यस कार्यक्रमले देशभरिमा राम्रो सन्देश दिने उहाँले भन्नुभयो । “शिक्षा समाज रुपान्तरणको आधार हो । शिक्षाले गर्दा सामाज परिर्वतन तथा विकासमा मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।
उहाँले उक्त कार्यक्रमका लागि सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई धन्यावद दिनुभयो । खस्कँदो शिक्षाको नतिजा सुधारका लागि मन्त्री तिमिल्सिनाले रचनात्मक कार्यक्रम अगाडि बढाएको उहाँले बताउनुभयो ।
आजदेखि सुरु ‘शैक्षिक तथा सांस्कृतिक मेला २०८१’ मेला यही फागुन १९ गतेसम्म चल्नेछ । प्रथम रामनगर जेसिज लुम्बनी प्रदेशस्तरीय मेलामा प्रदेशभरिका प्राध्यापकलाई तालिममार्फत प्रशिक्षण दिइ शिक्षाको गुणस्तरीयता सुधार गर्ने उद्देश्य रहेको रामनगर जेसिआइका अध्यक्ष रमेश पराजुलीले बताउनुभयो ।