माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’
मोरङ, फागुन १५ गते ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका ऐतिहासिक र पौराणिक महत्वका स्थलहरूको संरक्षण एवं प्रवर्द्धन गरिने बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जुताल सिमसार विकास तथा संरक्षण समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।


अध्यक्ष प्रचण्डले ‘जनतासँग माओवादी तराई मधेस जनजागरण अभियान’ले मुलुकका विभिन्न क्षेत्रमा रहेका ऐतिहासिक स्थलको अवलोकन गरेको बताउनुभयो । आगामी दिनमा यस्ता महत्व बोकेका स्थलको विकास, संरक्षण र प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने योजना बनाइने उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डले अभियानअन्तर्गत झापाको किचकवधसहित यहाँका अन्य महत्वपूर्ण क्षेत्र, मोरङको कानेपोखरी र आसपासका क्षेत्रमा रहेका ऐतिहासिक स्थलको विकाससम्बन्धी कार्यसूचीसमेत निर्माण गरिएको जानकारी गराउँदै आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा यस तालको विकासका लागि केही रकम छुट्याएको स्मरण गर्नुभयो ।

अध्यक्ष प्रचण्डले यस तालको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्दै थप भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोगको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले ताल क्षेत्रको विकासबाट यहाँ पर्यटकीय गतिविधि वृद्धि हुनुका साथै स्थानीयको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा पूर्वप्रधानमन्त्री दाहाललाई ताल संरक्षण समितिका अध्यक्ष बिलटसिंह श्रेष्ठले तालको विकास, संरक्षण र प्रवर्द्धनको पलह गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउनुभएको थियो ।