तनहुँ, मङ्सिर १४ गते । नेपाली काङ्ग्रेसका नेता एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टी विधि र विधान अनुसार चल्नुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको स्वागत एवं भेटघाटमा उहाँले सिंहले पार्टी विधि र विधानअनुसार नचल्दा समस्या हुने गरेको बताउनुभयो ।
सहरी विकासमन्त्री समेत रहनुभएका सिंहले विधि र विधानअनुसार चलाउन सक्ने नेता वडा, टोल, प्रदेश, क्षेत्र, जिल्ला हुँदै केन्द्रसम्म आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्रका हरेक समस्या समाधान गर्दै पार्टीलाई बलियो बनाउनुको विकल्प छैन । पार्टीभित्र समस्या छन्, त्यस्ता समस्यालाई समाधान गर्दै अगाडि बढ्ने हो ।”
आफू जहिल्यै पनि पार्टीको सुधार अभियानमा लागिपरेको बताउँदै सिंहले पार्टीमा समस्या छ मात्रै भन्ने तर सुधारको बाटो नदेखाउने परिपाटी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र यो भएन, त्यो भएन मात्रै भन्ने जमात पनि छन् । त्यस्तो भनेर मात्र हुँदैन । के गर्न सकिन्छ त्यसका लागि मार्गनिर्देश समेत गर्न सक्नुपर्छ ।”
नेपालका हरेक कठिन अवस्थामा काङ्ग्रेसले नेतृत्व लिँदै आएको बताउँदै सिंहले भन्नुभयो, “काङ्ग्रेसकै नेतृत्वमा जनआन्दोलन सफल भयो । काङ्ग्रेसकै नेतृत्वमा संविधान जारी भयो ।” सिंहले अहिले देशमा देखिएको समस्याको समाधानका लागि नेपाली काङ्ग्रेस र नेकपा (एमाले) को संयुक्त सरकार बनेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका जिल्ला उपसभापति रघुनाथ पौडेल, महासमिति सदस्य पवित्रा पौडेल, क्षेत्रीय सभापति श्याम मौराती, व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलगायतले जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।