नुवाकोट, मङ्सिर १४ गते । नुवाकोटको विदुर नगरपालिकाले घरमा गराउने सुत्केरीलाई शून्यमा झार्ने र जन्मदर्ता अभियान सफल बनाउन ‘सुनौलो हजार दिने आमालाई पोषण विशेष कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा जाँच गराई बर्थिङ सेन्टर (प्रसूतिगृह)मा सुत्केरी गराउन र बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउन यस्तो कार्यक्रम ल्याएको जनाएको हो । उपप्रमुख प्रभा बोगटीका अनुसार सुत्केरीलाई यस कार्यक्रममार्फत पोषण राहत प्याकेज उपलब्ध गराई पोषण र सरसफाइको महत्व बुझाउन थालिएको छ । उक्त सेवा लिन बच्चाको जन्मदर्ता अनिवार्य गरिएको छ ।

प्रसूति गृहमा सुत्केरी गराई बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई ‘पोषण प्याकेज’ प्रदान गर्न जनप्रतिनिधि र कर्मचारी उनीहरूको घरदैलोमा जाने गरेका छन् । गर्भवती र सुत्केरीको बेला पोषणसहित सरसफाइमा सावधानी एवं सचेतना जगाउन यस्तो गर्न घरबस्तीमा जान थालिएको स्वास्थ्य शाखा प्रमुख रामराज भण्डारीले जानकारी दिनुभयो । सुत्केरी अवस्थामा हुनसक्ने जोखिम न्यूनीकरण, नियमित गर्भ जाँच र सुत्केरीको स्याहारमा सहयोग पु¥याउन नगद र राहत प्याकेज कार्यक्रम एकैसाथ सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । “गर्भवती अवस्थामा स्वास्थ्य संस्थामा नियमित जाँच गराई बर्थिङ सेन्टरमा सुत्केरी गराएमा ‘सुत्केरी स्याहार खर्च’ बापत रु तीन हजार नगद प्राप्त गर्नेछन्”, उहाँले भन्नुभयो, “बच्चा जन्मेको ३५ दिनभित्र जन्म दर्ता गराएमा उनीहरूको पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा पुगेर ‘सुत्केरी पोषण प्याकेज’ प्रदान गरिनेछ ।”

प्याकेजमा सुत्केरी अवस्थामा पोषणको लागि चाहिने, घ्यू, नरिवल, छोगडा बदाम, दाल, गुद, ठूलो औषधिसहित सरसफाइसँग सम्बन्धित सामग्री रहेका छन् ।

पोषण प्याकेज लिएर स्वास्थ्यकर्मीसहित नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख बोगटी, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल एवं सम्बन्धित वडाका वडाध्यक्ष, सदस्यहरूले सुत्केरीसँग प्रत्यक्ष साक्षात्कार गर्ने, उनीहरूको गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने अवसरको रूपमा नगरले लिएको छ ।