फाइल तस्वीरः पूर्व उपप्रधानमन्त्री रवि लामिछाने ।
काठमाडौँ, मङ्सिर १४ गते । सहकारीको रकम हिनामिना र अपचलनको आरोप खेपिरहनुभएको पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे रास्वपाका सभापति लामिछानेसँग बयान सुरु भएको हो ।
पूर्व गृहमन्त्री लामिछानेलाई कास्की पोखराबाट हिजो काठमाडौँ ल्याइ भद्रकालीस्थित जिल्ला प्रहरी परिसरे हिरासतमा राखिएको थियो ।
प्रहरीले सो सहकारीको रकम अपचलनबारे पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिइसकेको छ । सोही प्रकरणमा कास्की कारागारमा थुनामा रहेका कुमार रम्तेललाई पनि काठमाडौँमा ल्याएर बयान लिइएको छ । ओखलढुङ्गा घर भएका रम्तेल स्वर्णलक्ष्मी सहकारीका कोषाध्यक्षसमेत हुन् ।
जीबी राई अध्यक्ष रहेको उक्त सहकारी संस्थाका छ सय ४५ जना बचतकर्ताहरुले सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । उक्त सहकारीबाट १ अर्ब ११ करोड रुपैयाँ निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । उक्त सहकारीमा २७ हजार निक्षेपकर्ताले दुई अर्ब ६५ करोड ९५ लाख रुपैयाँ जम्मा गरेको सहकारीमा रेकर्ड रहेको बताइएको छ ।