काठमाडौँ, भदौ ५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बिहान ८ बजे बस्ने भएको हो । बैठकमा पूर्वमहामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरीे निष्काशनबारे छलफल गरेर आवश्यक निर्णय गर्न लागिएको बताइएको छ ।

पार्टीको हितविपरीतका गतिविधि गरेको भन्दै पूर्वमहामन्त्री ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेका विरुद्ध कडा अभिव्यक्ति दिँदै आउनुभएको ढकालसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ । असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो ।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा विभिन्न १० एजेण्डामा छलफल हुनेछ । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुने बताइएको छ ।


बैठकमा समसामयिक राजनीति र पार्टीका गतिविधि, राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम, सङ्गठन निर्माण सम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रम, भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल, केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदनबारे छलफल र विविध विषयमा छलफल हुने बताइएको छ ।