काठमाडौँ, भदौ ५ गते । सङ्घीय संसद्अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज बुधबार कानून, न्याय तथा मानवअधिकार, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, विकास, आर्थिक मामिला तथा सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।


कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ः४५ बजे सुरु हुनेछ । बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारका विषयमा छलफल हुनेछ ।

यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवायले जनाएको छ ।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक आज दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा राज्यका निर्देशक सिद्धान्त र नीतिहरूका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।