फाइल तस्वीर
काठमाडौँ, साउन २९ गते । सरकारले १८ देशका लागि सिफारिस गरेका राजदूतहरुको सुनुवाई प्रक्रिया आजदेखि सुरु हुनेभएको छ । संसदीय सुनुवाई विशेष समितिले आज मङ्गलबारदेखि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया प्रारम्भ गर्न लागेको हो ।

सिफारिस गरिएका राजदूतहरुको सुनुवाई हुनुपूर्व समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिन समय सीमा तोकेर सूचना सार्वजनिक गर्नेछ । समितिले तोकेको समयसीमा भित्र परेका उजुरी प्रष्टीकरण दिने र राजदूत भएर जाने देशसँगको सम्बन्धका बारेमा सुनुवाई समितिले प्रस्तावित राजदूतहरुसँग प्रश्न गर्नेछ । प्रस्तावित राजदूतहरुले समितिमा उठाइएका प्रश्नको मनासिव जवाफ दिएमा सरकारले राजदूतका लागि सिफारिस गरिएका व्यक्तिहरुलाई समितिले अनुमोदन गर्नेछ । समितिको अनुमोदन पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले यही साउन १४ गते चीन, भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, रुसलगायत विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरु नियुक्तिपूर्व समितिले सुनुवाई गर्ने छ । समितिले सुनुवाई प्रक्रिया प्रारम्भ गर्न आज मङ्गलबार दिउँसो सवा १२ बज बैठक राखेको छ ।