फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।

काठमाडौँ, साउन २९ गते । सङ्घीय संसद्अन्तर्गत रहेको प्रतिनिधिसभाको बैठक एक सातापछि आज बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका तय गरिएको हो ।

आज मङ्गलबार बस्ने प्रतिनिधिसभाको ४६ औं बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।

यसैगरी प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने गर्नुहुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयद्वारा जारी कार्यसूचीअनुसार आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्नुहुने छ ।

यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ सदनमा पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।