फाइल तस्वीर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक

काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ । रास्वपाको बैठक आज मङ्गलबार बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार रास्वपाले संसदीय दलको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल हुनेछ । कार्यवाहक प्रवक्ता झाले आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा छलफल गर्नुको साथै प्रतिनिधिसभाको बैठक र समितिमा छलफल भइरहेका अन्य विधेयकसम्बन्धी विषयमा पनि छलफल गर्ने जानकारी गराउनुभयो ।

यसैगरी आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने प्रवक्ता झाले बताउनुभयो ।

आज मङ्गलबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।