फाइल तस्वीर

काठमाडौँ, साउन २८ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि सुरुभएको स्थायी समितिको बैठक आज सोमबार बिहान ११ बजेदेखि कोटेश्वरको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

शुक्रबारदेखि जारी बैठकमा पार्टी नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माणलगायत विषयमा नेताहरूले खुलेर आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । आजको बैठकमा पनि बोल्न बाँकी नेताहरुले आ–आफ्ना धारणाहरु राख्ने र पार्टी अध्यक्षले नेताहरुको धारणालाई समेटेर जवाफ दिनुहुने बताइएको छ ।

पार्टीको पछिल्लो समयदेखि निरन्तर खस्कँदो साख, स्खलित सिद्धान्त, विचार र कार्यदिशा, पार्टी भित्र मौलाउँदो गुटबन्दी जस्ता जल्दा–बल्दा विषयमा नेताहरुले आ–आफ्ना धारणाहरु राख्नै पार्टीलाई पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी पदाधिकारी बैठकमा पार्टीलाई पुनःसंरचना गर्नुपर्ने कुरामा नेता हरिबोल गजुरेलले नेतृत्व र पार्टीप्रति जुन वस्तुगत तथ्य कुराहरु व्यक्त गर्नुभएको थियो हिजो शनिबार बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले पनि पार्टीभित्रको समस्या, नेतृत्वको विकल्प र पार्टी निर्माणबारे लिखित प्रस्ताव नै पेस गरेका थियो ।

यसैगरी अर्का उपमहासचिव वर्षमान पुनले पनि नीति र नेतृत्व सम्बन्धमा खुलेर बहस गर्नुभएको थियो । अधिकांश नेताहरुले नेतृत्व र पार्टीको वैचारिक दृष्टिकोण, कार्यदिशा र सङगठनप्रति संवेदनशित हुँदै आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । माओवादी पार्टीको नीति नै अस्पष्ट भएको आम नेता र कार्यकर्ताको बुझाई छ ।

स्थायी समितिको बैठक सकेपछि पार्टीले केन्द्रीय समितिको बैठक बोलाउने सोच बनाएको छ । स्थायी समितिको बैठकले आगामी केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डाहरु समेत तय गर्ने बताइएको छ । माओवादी केन्द्रले निर्णय गर्ने तर व्यवहारमा रुपान्तरण गर्न नसक्नुले पनि पार्टीको धरालत खस्कँदै गएको देखिन्छ ।

अर्कोतर्फ सबैले नेतृत्वलाई गालि गर्ने र आफ्नो अनुकूल नेतृत्वलाई दवाव दिने प्रवृत्ति पनि माओवादी केन्द्रका नेताहरुमा छ । आफ्नो अनुकूल र सोचाइ अनुसार नेतृत्वले काम नगरे नेतृत्वकै विरोध गर्ने प्रवृत्ति पनि नेताहरुमा देखिन्छ । पार्टीलाई बलियो बनाउने भन्ने कुरा नेतृत्वले मात्रै गर्ने भन्दा पनि सबैको समान जिम्मेवारी र दायित्व हो भन्ने हेक्का नेताहरुले राख्नु पर्ने हो ।

माओवादीका नेताहरु आफैले पनि आफुलाई निमर्म ढङ्गले आत्मसमीक्षा गर्नुपर्ने र सच्चिनु आवश्यक छ । अहिले स्थायी समितिको बैठकमा जे जसरी पार्टी नेतृत्व, नीति र कार्यदिशाका विषयमा घनिभूत रुपमा छलफल भएका छन् त्यसलाई व्यवहारमा उतार्न नसक्ने ‘नमच्चिने पीङको सयझड््का’ भन्ने उक्ति चरितार्थ हुनेबाहेक केही हुने छैन ।