फाइल तस्वीर
काठमाडौँ, साउन २७ गते । ‘मिनी संसद’को रुपमा चिनिने पाँच वटा संसदीय समितिहरुको बैठक आज बस्दै छ । प्रतिनिधिसभा अन्तर्गत रहेका ती समितिहरुको बैठक आज आइतबार विभिन्न समयमा बस्ने संसद् सचिवालयले जनाएको हो ।
आज बस्ने संसदीय समितिहरुको बैठकमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडका सम्बन्धमा छलफल गरिने कार्यसूची छ भने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी आजै दिउँसो १ बजे सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बस्नेछ । उक्त बैठकमा बाढी, पहिरो लगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारबाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । यो बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ भने आजै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रियसभा सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।