तस्वीरमा भारतीय विदेश सचिव विक्रम मिस्री ।
काठमाडौँ, साउन २७ गते । भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सचिव मिस्री परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा आज आइतबार नेपाल आउन लाग्नुभएको हो ।

भारत भ्रमणको अवसरमा परराष्ट्र सचिव लम्सालले भारतीय समकक्षी मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । गत जुलाई १५ तारिखमा भारतको विदेश सचिव बन्नुभएका मिस्रीको आज हुने नेपालको भ्रमण परिचयात्मक भ्रमण हुने बताइएको छ ।

नेपाल भ्रमणका अवसरमा भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

भारतका तात्कालीन प्रधानमन्त्रीद्वय इन्द्रकुमार गुजराल र मनमोहन सिंहका साथै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवालयमा समेत काम गर्नुभएको विदेश सचिव मिस्री चीन मामिलाका जारकार मानिनुहुन्छ ।