काठमाडौँ, असार ३० गते । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रवेश परीक्षा कक्षा १२ को परीक्षाफल प्रकाशित हुनुअगावै सञ्चालन गर्ने भएको छ । त्रिविले स्नातक र स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर जारी गर्दै कक्षा १२ को परीक्षाफलको प्रतिक्षामा रहेका विद्यार्थीलाई प्रवेश परीक्षामा सामेल गराउने निर्णय गरेको हो ।

त्रिविले कक्षा १२ को परीक्षामा अनुत्तीर्ण भएमा भर्ना भएको रकम फिर्ता गरेर प्रवेश परीक्षा रद्द गर्नेगरी तयारी गरेको छ । त्रिविको एकेडेमिक काउन्सिलको बैठकले क्यालेन्डर कार्यान्वयन गर्ने निर्णय गरेपछि त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठक बसेको थियो । स्थायी समितिको १९६औं बैठकले क्यालेन्डर लागू गर्न सबै निकायलाई पत्राचार पनि गरिसकेको छ ।

त्रिवि रेक्टर कार्यालयले अध्ययन संस्थान, संकाय, आंगिक क्याम्पस, केन्द्रीय विभाग र विभिन्न विभागलाई शुक्रबार पत्राचार गरेको हो। त्रिविका रजिस्टार प्राडा खड्ग केसीले चालू शैक्षिक सत्रबाट त्रिविको सेमेस्टर र वार्षिक प्रणालीअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा शैक्षिक क्यालेन्डर लागू हुने जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सबै निकायलाई पत्राचार गरिसकेका छौं, सोहीअनुसार परीक्षा सञ्चालन हुनेछ ।’

त्रिविको परीक्षालाई व्यवस्थित रूपमा सञ्चालन गर्न शैक्षिक क्यालेन्डर लागू गरिएको जिकिर गर्दै उहाँले अब ९० दिनमा परीक्षा र ९० दिनभित्रै परीक्षाफल प्रकाशित हुनेगरी क्यालेन्डर तयार भएको जानकारी दिनुभयो। त्रिविले क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे नियमित अनुगमन गर्न प्रदेश परीक्षा कार्यालयलाई जिम्मा दिइएको छ ।

स्नातक तह सेमेस्टर प्रणालीअन्तर्गत पहिलो सेमेस्टरका लागि साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म आवेदन आह्वान हुनेछ। त्यस्तै, भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुनेछ भने असोजदेखि कात्तिकको बीचमा विद्यार्थी भर्ना गरिनेछ। शैक्षिक क्यालेन्डरअनुसार मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुनेछ । त्यसै गरी माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन गर्ने र २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको नतिजा प्रकाशित गर्ने गरी शैक्षिक क्यालेन्डर तयार गरिएको हो ।

त्यस्तै, वार्षिक प्रणालीअनुसार स्नातक तह प्रथम वर्षका लागि साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना र भदौको चौथो हप्तादेखि कक्षा सञ्चालन हुनेछ भने चैतको चौथो हप्तामा परीक्षा फारम खुल्नेछ । आगामी वर्ष जेठ पहिलो हप्तामा कक्षा सकिने छ । २०८२ जेठ चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन् । त्यसको नतिजा प्रकाशन २०८२ असोजको दोस्रो हप्तामा हुनेछ ।

स्नातककोत्तर तहको हकमा पहिलो सेमेस्टरका लागि २०८१ को मङ्सिरमा भर्ना फारम खुल्नेछ । पुसमा प्रवेश परीक्षा तथा भर्ना हुनेछ र माघ १ गतेदेखि कक्षा सञ्चालन हुने छ । चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ भने २०८२ सालमा असारको चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुनेछ ।

त्रिविका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले प्रयोगात्मक परीक्षाको अनुगमन गर्नेछन् । परीक्षा सकेलगत्तै एक वा दुई हप्तामात्र सेमेस्टर ब्रेक हुने छ । त्रिविले प्राविधिक विषयमा इन्जिनियरिङ, कृषि तथा वन, चिकित्सा शिक्षा र विज्ञान तथा प्रविधिलाई पनि व्यवस्थित रूपमा एकैसाथ परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिएको रेक्टर केसीले बताउनुभयो । अन्तिम परीक्षा सकेको दुई साताभित्र प्रयोगात्मक परीक्षा सञ्चालन हुनेछ ।

हरेक दुई वर्षपछि हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०८३ सालको फागुन १४ गते गर्नेगरी निर्णय भएको छ। क्यालेन्डर जारी भएसँगै अब हरेक वर्ष पुस पहिलो हप्ताबाट सबै क्याम्पसमा खेलकुद सप्ताह हुनेछ । त्रिविले जाडो र गर्मी बिदा कटौती गर्नुका साथै नियमित बिदाबाहेक अन्य बिदा कटौती गरेको छ । (आजको नेपाल समाचारपत्र दैनिकबाट)