काठमाडौँ, असार २८ गते । काठमाडौँ महानगरपालिकाले सर्वोच्च शिखर सगरमाथा आरोही छेपा शेर्पालाई आज सम्मान गरेको छ । कामपा वडा नं ४ ले वडाको नामाङ्कित ब्यानर सगरमाथामा फहराउने शेर्पालाई सम्मान गरेको हो ।

शेर्पाले गत जेठ ८ गते वडाको फ्लेक्स ब्यानर सगरमाथाको चुचुरोमा फहराउनुभएको थियो । उहाँ वडा नं ४ को स्थायी बासिन्दा हुनुहुन्छ । वडास्तरीय दौड प्रतियोगिताको समापन कार्यक्रममा शेर्पालाई सम्मान गरिएको हो ।

वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले भन्नुभयो, “सर्वोच्च शिखरमा वडाको नाम फहराएर शेर्पाले वडावासीको पहिचान उच्च बनाउनुभएकाले उहाँलाई सम्मान गरिएको हो । यसप्रकारको पहिचान प्रवर्द्धन गर्ने अवसर थोरैलाई मात्र प्राप्त हुन्छ ।”

‘स्वस्थ्य जीवनका लागि दौड’ नारा राखेर वडास्तरीय दौड प्रतियोगिता सम्पन्न गरेको छ । दौडमा विद्यालयका छात्रछात्रा, खुला महिला पुरुष र भेट्रान समूह बनाइएको थियो । दौडमा विद्यालयका छात्रछात्राका लागि र ५५ वर्ष उमेर समूहमाथिका भेट्रान समूहका लागि तीन किलोमिटर र खुला महिला पुरुषका लागि पाँच किलोमिटर दूरी राखिएको वडासचिव श्याम पाण्डेले जानकारी दिनुभयो ।

प्रतियोगितामा विद्यालयका एक सय २० छात्रछात्राको सहभागिता थियो । वडामा सामुदायिक र संस्थागत गरी ३१ वटा विद्यालय छन् । यीमध्ये सामुदायिक चारवटा विद्यालय छन् ।

खुला महिला पुरुष गरी ९६ र भेट्रान ६८ जनाले भाग लिनुभएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार, दोस्रो हुनेलाई रु तीन हजार र तेस्रो हुनेलाई रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।