काठमाडौँ, असार २२ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ । आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक कार्यक्रममा सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनीतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा परेको बताउनुभयो ।

त्यस अवसरमा पार्टीद्वारा प्रस्तुत कार्यपत्रमा सहकारीको जन्म पुँजीवादी शोषण र पीछडिएका मुलुकमा सामन्तवादी शोषण तथा साहुकारी प्रथाविरुद्ध भएको उल्लेख छ । सहकारीको मुख्य उद्देश्य मजदुर, किसान, समाजमा दबिएका, उपेक्षित र किनारामा पारिएका वर्गको आर्थिक रुपले पक्षपोषण गर्नु रहेको समेत उल्लेख गरेको छ । 

सहकारीको समस्या समाधानमा जनता र राजनीतिक दलले दबाब सिर्जना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरिब जनताले छाक काटेर जोगाएको पैसा केही सीमित टाठाबाठाले हिनामिना गरेका जिकिर गर्नुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याकारुपमा देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “लाखौँ नागरिकको अर्बाै रकम हजारौ सहकारीमा जम्मा गरेका छन् । उनीहरुको बचत अपचलन, दुरुपयोग, हिनामिना र ठगी भएको छ । केही सहकारीले बचत फिर्ता गर्न सकेका छैनन् भने केहीमा बचतको सुरक्षामै प्रश्न उठेको छ ।”

केही सहकारीको समस्याका कारण सम्पूर्ण सहकारीमा रहेको बचत रकम सुरक्षाबारे गम्भीर प्रश्न उठेको उहाँको भनाइ थियो । उहाँले सहकारीको बचत अपचलनमा सार्वजनिक र राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको संलग्नता देखिने चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सामान्तवादविरुद्धको अभियानकारुपमा अघि बढेको सहकारी आन्दोलनका माध्यमद्वारा समाजवादतर्फ जान सकिन्छ भन्ने ध्येय रहे पनि नेपालमा भने उद्देश्य अनुरुप कार्यान्वयन हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वस्तु उत्पादन गरी निर्यात गर्नुपर्नेमा शेयर लगानी गर्ने, मुनाफा कमाउने तथा ब्याज खानेमा सहकारी आन्दोलन सीमित भएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा भिमबहादुर रावलले देशको तीन खम्बे अर्थतन्त्रमा महत्वपूर्ण मानिएको सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकार र ठूला राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “सहकारीको रकम अपचलन र ठगी गर्ने व्यक्तिविरुद्ध निर्धक्क आवाज उठाउनुपर्छ । सहकारीको रकम अपचलनका विषयमा कतिपय नेताबाट गैर–जिम्मेवारी अभिव्यक्ति आएको छ, । संलग्नलाई कारवाही गरिएन भने त्यो नगर्नेलाई मतियार भन्नुपर्ने हुन्छ ।”

संविधानविद् तथा नेपालका सहकारी समस्याबारे जानकार काशीराज दाहालले राज्य संयन्त्रमा बसेका व्यक्तिमा समस्या अन्त्य गर्ने इच्छाशक्ति र संवेदनशीलताको कमी मात्र नभई र अलमल्याउने प्रवृत्तिले सहकारी समस्या समयमा हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “राज्य संयन्त्रमा रहनेहरुमा समस्यालाई छिटो अन्त्य गर्ने जागरुकता देखिन्न । समस्या समाधान गर्ने हो भने कार्यान्वयन गर्ने अधिकारसम्पन्न आयोग हुनुपर्छ ।”
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सहकारी  सामुहिकतामा आधारित व्यवसाय भएकाले समाजवादी अर्थतन्त्रको विकास तथा वर्गीय अन्तर विरोधलाई समाधान गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताउनुभयो ।

उहाँले देशमा ‘सहकारी र ठगी’ एक अर्काका पर्यायवाची हुन भन्ने भाष्यका रुपमा स्थापित हुँदा सहकारीको उद्देश्य, दर्शन र सिद्धान्तअनुसार काम गरिरहेका सहकारी समेत पीडित हुन पुगेको धारणा व्यक्त गर्नुभयो ।

कृषि क्षेत्रमा खोलिएका सहकारीले सीमित रुपमा भएपनि मुलुकलाई आत्मनिर्भर बनाउने दिशातर्फ काम गरिहरहेको पक्षलाई नजरअन्दाज गर्न निमिल्ने उहाँको भनाइ थियो । त्यसअवसरमा सहभागी अन्य वक्ताले लघु कृषि उत्पादनको दायरा थप विस्तार हुन नसकेको प्रतिक्रिया दिनुभयो ।