फाइल तस्वीर


काठमाडौँ, असार २० गते । जनता समाजवादी पार्टी(जसपा) नेता एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीको आधिकारिक धारणा बनिनसकेको बताउनुभएको छ । नयाँ सत्ता समीकरणका लागि सोमबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसबीच भएको सहमतिलाई जनता समाजवादी पार्टी (जसपा) ले समर्थन गर्ने बताइरहेको बेला स्वास्थ्य मन्त्री यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले आधिकारिक निर्णय नगरेको खुलासा गर्नुभएको हो ।

मन्त्री यादवले भन्नुभयो, “पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन, बैठक बसेर आवश्यक निर्णय हुन्छ ।” जसपाबाट सरकारमा प्रतिनिधित्व गर्दै आउनुभएका मन्त्री यादवले पार्टीले विकसित राजनीतिक परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे बैठक बसेर निर्णय गर्ने बताउनुभएको छ ।

त्यसोत सो पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले परिवर्तित राजनीतिक घटनाक्रमअनुसार पार्टीले नयाँ ढङ्गले अगाडि बढ्ने निर्णय गरेको बताउनुभएको छ । पार्टीको पदाधिकारी बैठकले समर्थन फिर्ता लिने निर्णय गर्ने महासचिव राईले जानकारी गराउनुभयो ।

महासचिव राईले वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने बताउनुभएको थियो । उहाँले प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने बताउनँदै महासचिव राईले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने धारणा बनाएको र त्यसमा साँझसम्म पदाधिकारी बैठक बसेर निर्णय लिने बताउनुभयो ।
जसपाले आज साँझसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने !