फाइल तस्वीर
काठमाडौँ, असार १४ गते । सांसद्हरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद्हरुले यस्तो धारणा राख्नुभएको हो ।

सांसद्हरुले हिजो सार्वजनिक भएको एसइईको परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी के कारणले असफल भएका हुन् सो को समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद्हरुले बिहीबार प्रकाशित एसइई परीक्षाको नतिजाले ठूलो प्रश्न चिह्न खडा गरेको टिप्पणी गर्नुभएको छ । बैठकमा सांसद रोशन कार्कीले ५२ प्रतिशत विद्यार्थी असफल भएको सम्बन्धमा शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै कलिला युवाको मनस्थिति के भएको होला भन्ने बारेमा सोच्नुपर्ने बताउनुभयो ।

उहाँ भन्नुभयो, “उनीहरु असफल भएको कुरा कुन मनोवैज्ञानिकले हेरिराखेका होलान् । शिक्षा नै मूलद्वार हो, जसले देशको विकास गर्छ । यसबारेमा शिक्षा मन्त्रालय अत्यन्त गम्भीर भएर हेर्नुपर्छ, उनीहरु किन उत्तीर्ण हुन सकेनन् । कसको कमजोरीले यति धेरै विद्यार्थी असफल भएका हुन ?”

सांसद सांसद रञ्जुकुमारी ठाकुरले नीतिगत भ्रष्टाचार हुन नदिन र विपद् व्यवस्थापनको पूर्व तयारीलाई गति दिन सरकारले ध्यान दिनुपर्छ भन्नुभयो । सांसद रेखा यादवले एसइईको परीक्षामा के कारणले विद्यार्थी असफल यस विषयमा सरकारले सदनमा जवाफ दिनुपर्छ भन्नुभयो । सांसद महन्थ ठाकुरले महोत्तरीमा बाढी नियन्त्रणको लागि जनता तटबन्धको कार्यक्रम ल्याइएको तर अहिलेसम्म ४० प्रतिशत काम मात्र समाप्त भएको जनाउँदै त्यो कार्यक्रमलाई अन्यत्र नसार्न आग्रह गर्नुभयो ।

सांसद प्रदीप पौडेलले एसइईमा अधिकांश विद्यार्थी असफल भएको सन्दर्भमा सरकारले गुणस्तर वृद्धि गरेर धेरै विद्यार्थीलाई उत्तीर्ण गर्न लाग्नुपर्नेमा त्यो गर्न नसकेको टिप्पणी गर्नुभयो । सांसद नैनकला थापाले अविरल वर्षाका कारण भइरहेकोे धनजनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पूर्णबहादुर तामाङले निर्माण व्यवसायीले काम गरिसकेको ४० अर्ब रुपैयाँ सरकारले निकास नगरेको उल्लेख गर्दै तत्काल रकम निकासा गर्न आग्रह गर्नुभयो ।