तस्वीरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झा ।


काठमाडौँ, असार १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभयो । जारी प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद झाले चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।

नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नरहेको भन्दै सांसद् झाले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने दावी समेत गर्नुभयो ।

नेपालमा पाइने सङ्कटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नुपर्नेमा सांसद् झाको जोड थियो । झाले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए । रास्वपाका सांसद् झाले ‘तराईका लागि चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ । यसको संरक्षण आवश्यक छ ।’