फाइल तस्वीर
काठमाडौँ, जेठ ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा जलन उपचार कोषको व्यवस्था गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले जलनको उपचार र जलनपीडित आगामी आवको बजेटको प्राथमिकतामा नपरेको भन्दै जलन उपचार कोषको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

सदनमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद कंसाकारले जलनपीडितलाई अन्य दीर्घरोग, मिर्गौला र क्यान्सरका बिरामीलाई सरह स्रोत साधन र अस्पतालको व्यवस्था गर्न माग गर्नुभयो ।

प्रधानमन्त्रीले कैयौँ पटक जलन अस्पताल खोल्ने कुरा गरे पनि बजेटको प्राथमिकतामा पर्न नसक्दा यसले देशभरका जलनपीडितलाई सान्त्वनासम्म दिन नसकेको सांसद कंसाकारले बताउनुभयो । “जलनको उपचार धेरै नै महङ्गो छ । धेरै जसो जलनपीडित दुर्घटना परेपछि उपचार नपाएर निधन हुने भुइँमान्छे छन् । कहिलेसम्म हामीले आँखा चिम्लने, कहिलेसम्म अमानवीय पीडालाई हामी सम्बोधन नगर्ने ?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद कंसाकारले देशभर जलन अस्पताल पर्याप्त नभएको बताउनुभयो । जलनको उपचार केन्द्रमा सीमित र महङ्गो उपचार शुल्कतर्फ समेत ध्यान दिनुपर्ने भन्दै उहाँले सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।