काठमाडौँ, जेठ ३० गते । मेलम्चीबाट दैनिक करिब २० करोड लिटर पानी आउने गरेको काठमाडौंमा यस वर्ष पनि केही समय बन्द हुने भएको छ । वर्षायाम सुरु भएसँगै सुरुङमा गेग्रान छिर्नबाट जोगाउन पानी बन्द गरिने भएको हो ।
२०७८ साल असारको बाढीले मेलम्ची मुहान क्षेत्रलाई क्षति गरेपछि काठमाडौं उपत्यकामा निरन्तर पानी वितरण हुन सकेको छैन । गत वर्षको असारमा बन्द गरिएको पानी ६ महिनापछि अर्थात् माघ १ देखि उपत्यकामा वितरण गरिएको थियो । तीन वर्षदेखि मेलम्चीको पानी सुक्खा मौसममा मात्र काठमाडौंमा वितरण गरिँदै आएको छ ।

यस वर्ष जेठ ३१ गतेबाट मनसुन सक्रिय हुने सूचना जल तथा मौसम विज्ञान विभागले दिइसकेको छ । त्यही अनुसार असार १ गतेबाट पानी बन्द गर्ने सोच रहेको आयोजनाले जनाएको छ । अहिले दुई जना इन्जिनियरसहित परामर्शदाता तथा निर्माण व्यवसायीबाट समेत ५ जना कर्मचारी मुहान क्षेत्रमा परिचालन गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिमा कहिलेदेखि पानी बन्द गर्ने भन्ने बारे छलफल भइरहेको र कुन मितिदेखि बन्द गर्ने भन्नेबारे एकिन निर्णय हुन बाँकी रहेको छ । अहिले मेलम्चीबाट दैनिक करिब २० करोड लिटर पानी आउने गरेको छ ।