फाइल तस्वीर
बाँके, जेठ २८ गते । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपद्मा खोज तथा उद्धारसम्बन्धी चार दिने तालिम दिइएको छ । विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको हो ।

रूखबिरुवा ढलेर वा भित्ता भत्किएको बेला रूख, भित्ता र टिनका पाता काट्ने तरिका, घरभित्र फसेकालाई बाहिर ल्याउने र घाइतेहरुको उद्धार तथा उपचारका लागि अस्पताल पु(याउनेलगायत विषयमा तालिम प्रदान गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् समितिका संयोजक समीरप्रताप सिंहले बताउनुभयो ।

बाँकेको शम्शेरगन्जस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा आयोजित तालिममा २० जना नगर प्रहरी सहभागी थिए । उनीहरुलाई प्रयोगात्मक अभ्यास गराइएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी केन्द्रमा तालिमका लागि नमूना माटोको घर, भित्ता, टिनको छानालगायत सामग्री निर्माण गरिएको थियो । नगरप्रहरीलाई तालिम प्राप्त सशस्त्र प्रहरीहरुले तालिम प्रदान गरेका थिए । नेपालगन्जमा विपद्का बेला नगर प्रहरीलाई दक्ष तथा सतर्क बनाइ तयारीका साथ राख्न तालिम प्रदान गरिएको नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले बताउनुभयो ।